संसद्को विशेष अधिवेशन बोलाउन कांग्रेसको माग
प्रतिपक्षी नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय पदाधिकारी र केही नेताहरु सम्मिलित बैठकले सरकारलाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार बढ्दै गएको भन्दै कांग्रेसले यी विषयमा संसद्मा छलफल गर्न विशेष अधिवेशन बोलाउनुपर्ने माग गर्ने भएको हो ।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकमा सरकारलाई दबाब दिन संसद्को विशेष अधिवेशन आअ्वान गर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।
कांग्रेसले सरकारविरुद्ध सडक र संसद्बाट एकसाथै संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले जानकारी दिए ।
कांग्रेस पदाधिकारी बैठकमा रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको थियो ।







