खोसियो हिमालय एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ सेवा
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्रीको निर्देशनपछि हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिने गरी गत साता भएको निर्णय तत्काल कार्यान्वयनमा नजाने भएको हो ।
प्राधिकरणले अघिल्लो साता मात्र हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति दिइँदा सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको व्यापार खोसिएको भन्दै आलोचना भएपछि मन्त्रीले यसबारे चासो राखेका थिए ।
पर्यटनमन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग यस विषयमा छलफल गरी हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएकोबारे जानकारी लिँदै अहिलेलाई यथास्थितिमा राख्न निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो ।
यद्यपि यसबारे मन्त्रालय र प्राधिकरणको आधिकारिक धारणा भने बाहिर आएको छैन । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र प्राधिकरणका महानिर्देशकबीचको छलफलमा मन्त्री भट्टराईले मापदण्डलगायतका विषयमा चासो राखेका थिए ।
अहिले नेपाल वायुसेवा निगमबाहेक एयर इन्डिया र थाई एयरवेजले आवश्यक मापदण्ड पूरा नगरी ग्राउन्ड ह्यान्डलिङ सेवा उपयोग गर्दै आएका छन् ।
यीमध्ये निगमले व्यावसायिक सेवा प्रदान गरेको छ भने अरु दुईले ‘सेल्फ सर्भिस’ उपयोग गरेका छन् । प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्री यस विषयमा आफूलाई आधिकारिक जानकारी नभएको प्रतिक्रिया दिन्छन् ।
हिमालय एयरलाइन्सलाई कार्यविधिअनुरुप नै ग्राउन्ड ह्यान्डलिङ अनुमति दिने निर्णय भएको र मापदण्ड पूरा गर्ने अरुलाई पनि प्राधिकरणले अनुमति दिनुपर्ने उनले बताए ।
‘यस विषयमा मन्त्रालबाट कुनै परिपत्र आएको जानकारीमा छैन । छलफल भएको हुन सक्छ तर विधि र प्रक्रियाअनुसार नै हिमालयलाई उक्त सुविधा दिइएको हो । थप प्रक्रिया पूरा गरेपछि मात्र सेवा सुरु गर्न सक्छ’, उनले भने ।
प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ निर्देशिका, ०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउन्ड ह्यान्डलिङका लागि त्रिभुवन विमानस्थलमा सातामा ३५ उडान गर्ने एयरलाइन्सलाई अनुमति दिन सक्ने प्रावधान छ ।
हिमालय एयरलाइन्सको सातामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ । ग्राउन्ड ह्यान्डलिङ निर्देशिकाबमोजिम हिमालयले सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधाका लागि गत चैत ७ मा निवेदन दिएको थियो । प्राधिकरणको भदौ २८ को निर्णयअनुसार उक्त एयरलाइन्सलाई अनुमति प्रदान गरिएको थियो ।
मन्त्रीले सेवा स्थगन गराउन दिएको निर्देशनका विषयमा कुनै जानकारी नआएको हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।
‘हामीले २००८ मा फ्लाई यती नामबाट अन्तर्राष्ट्रिय उडान गर्दा पनि यो सेवा लिएका थियौं । अहिले फेरि त्यो प्रक्रिया पूरा गरेकाले निर्देशिकाबमोजिम सेवा लिन लागेका हौं,’ उनले भने ।







