नेकपा सचिवालय बैठकमा मन्त्री हेरफेरको चर्चा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको छ ।
कोटेश्वरस्थित पेरिसडाँडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भए पनि कुन–कुन मन्त्रीलाई हटाएर क–कसलाई पठाउने भन्नेबारे नाममा भने छलफल भएन ।
‘मन्त्रिपरिषद पुनर्गठनबारे आजको सचिवालय बैठकमा छलफल भयो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत रूपमा र मापदण्डबारे छलफल सुरु भएको छ । नामबारे छलफल भएन । आवश्यकता परे नामबारे प्रधानमन्त्रीसँग पछि यसबारे छलफल गर्न सकिन्छ ।’
सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलगायत चार एजेन्डा छलफलका लागि पेस गरिएको थियो । हालै सकिएको स्थायी कमिटी बैठकको निर्णय र निष्कर्षलाई कार्यान्वयन गर्न सचिवालय बैठक बसेको श्रेष्ठले जानकारी दिए ।
बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तिको एजेन्डा पनि छलफलका लागि पेस भएका छन् । सरकारले गर्ने नियुक्ति विषयमा आधार तय गर्न छलफल गर्न लागिएको उनले बताए ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी कार्ययोजनामा तीनवटा विकल्पमाथि छलफल भएको छ ।
‘तीन विकल्पमध्ये पहिलोमा विकल्प प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाउने र सबै नयाँ राख्ने विषयमा छलफल भएको छ । दोस्रोमा सुरुमा मन्त्री भएकालाई हटाउने र पछिल्लो पटक गएकालाई यथावत राख्दै हटाएका स्थानमा नयाँ अनुहारलाई लैजाने भन्ने पनि भयो,’ एक सचिवालय सदस्यले भने, ‘तेस्रो विकल्पमा सुरुमै मन्त्री भएका पनि राम्रो काम गर्नेहरुलाई राख्ने र राम्रो गर्न नसकेकालाई मात्र हटाएर उनीहरुको ठाउँमा क्षमतावान छानेर समावेशी बनाउने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्छ भन्ने विकल्पमा छलफल भएको छ ।’
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भए पनि कसलाई हटाउने र कसलाई पठाउने भन्ने पात्रबारे छलफल नभएको बताए ।







