संविधान सर्वस्वीकार्य दस्तावेज– प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले संविधानले कसैलाई विभेद नगरेकाले सर्वस्वीकार्य भएको दाबी गरेका छन् ।
उनले संविधानले विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संशोधन गरी अगाडि बढ्न सकिने बताए । संविधान दिवस अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधान सबैलाई अटाउने संविधान रहेको भन्दै आशंका वा अस्पष्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताए ।
उनले देशको विकासमा जुट्न पनि सबैलाई आग्रह गरे । विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले गरेका कामलाई समीक्षा गर्दा उत्साहजनक रहेको दाबी गरे ।
उनले भने, ‘डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमको समीक्षा गर्ने हो भने अहिलेसम्मको काम उराठलाग्दो नभएर उत्साहजनक देखिएको छ ।’
अहिले देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको र परीक्षणको दैनिक क्षमता २३ हजार ५ सयभन्दा धेरै रहेको समेत उनले बताए ।
प्रधानमन्त्री ओलीले उहाँले महामारीको जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्किने र ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने दाबी गरे ।
उनले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक सर्त भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले देशमा विकास निर्माणका काम तीव्र भएको र नागरिकको जीवन सुखमयतर्फ अघि बढे पनि केही व्यक्तिले सरकारको आलोचना मात्रै गरेको भन्दै असन्तुष्टि जनाए ।
लोकतन्त्रमा असहमत स्वरहरूले स्थान पाउनुपर्ने तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र नभएको पनि उनको भनाइ छ । उनले सञ्चारमाध्यम र बौद्धिक जगत्ले पनि अनावश्यक आलोचना मात्रै गरिरहेको दुखेसो पोखे । ‘नियन्त्रित र कमजोर अवस्थामा पनि अग्रगामी आन्दोलनमा योगदान पु¥याउने सञ्चारमाध्यम र बौद्धिक जगत्ले आज बाटो अलमलिन मिल्दैन । अझ स्पष्ट र सुदृढ योगदानको अपेक्षा नेपाली जनताले गरेको मैले पाएको छु’, प्रधानमन्त्रीले भने ।
काम हुँदै भएन र नेताहरूले नागरिकको गुनासा नसुनेको भन्ने गलत प्रचार भइरहेको भन्दै प्रधानमन्त्री ओलीले बाहिर हल्ला गरेजस्तो सरकार केही नगरी नबसेको दाबी गरे ।







