अख्तियारले तामेलीमा राखेका ६ वटा फाइल खोल्न माग
भ्रष्टाचारविरुद्धमा आवाज उठाउँदै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेका ६ वटा भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न माग गरेको छ ।
ट्रान्सपरेन्सी नेपालले विज्ञप्ति जारी गर्दै आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी जहाज खरिद प्रकरण, न्यारोबडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गा यती कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमिततासम्बन्धी प्रकरणका मुद्दामा अविलम्ब अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेको हो ।
‘निष्पक्षता र निर्भीकतापूर्वक आप्mनो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाब र प्रभावमा परी राजनीतिक नेतृत्वहरूको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठूला भ्रष्टाचारका मुद्दा नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टि गर्न गाह्रो पर्छ,’ आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको कार्यकाल सकिएकै दिन जारी विज्ञप्तिमा भनिएको छ, ‘बढी रकम हिनामिना गर्ने÷गराउने व्यक्तिहरूलाई ठाडै उन्मुक्ति दिने गरी मुद्दाको फाइल बन्द गरी तामेलीमा राख्नुपछाडि आयोगका पदाधिकारीको कार्यक्षमता र इमानदारीमा मात्र होइन, नियतमा समेत गम्भीर प्रश्न उठेका छन् ।’
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीको ओठे प्रतिबद्धता र व्यवहारका कारण भ्रष्टाचारीहरू संरक्षित भएको दाबी गरे । बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, ओम्नी प्रकरणमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले उनको संरक्षणमा भ्रष्टाचार मौलाएको पुष्टि भएको रेग्मीको भनाइ छ ।
पूर्वप्रशासकसमेत रहेका अध्यक्ष रेग्मीले भ्रष्टाचारको मूल भनेकै राजनीतिक नेतृत्व तह भएको जिकिर गरेका छन् ।
अख्तियारका वर्तमान र पूर्वआयुक्तहरूको सम्पत्ति छानबिन माग
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा भएका लापरबाहीमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेका छन् ।
विभिन्न काण्डमा अर्बौं रुपैयाँका भ्रष्टाचार चर्चामा रहे पनि अख्तियारले तदारुकताका साथ छानबिन गरी दोषीलाई कारबाही नगरेको पौडेलको भनाइ छ ।
अख्तियारका वर्तमान र पूर्वपदाधिकारी सदस्यलाई जिम्मेवार बनाउन एक पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा भरोसायोग्य उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पौडेलको माग छ ।
चर्चित अनियमितताका प्रकरणमा अख्तियारले छानबिन नगरी ढिसमिस गर्न लागेको पौडेलले बताएका छन् । ‘माझीले नै डुंगा डुबाउन लागेपछि कसले पार लगाउने ?,’ पौडेलले विज्ञप्ति जारी गर्दै प्रश्न गरेका छन्, ‘यस्ता कामकारबाही किन भइरहेका छन् ?’







