यो वर्ष नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत मात्र हुने एडिबीको प्रक्षेपण
सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गरेको यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि हुने अनुमान विकास साझेदारी एसियाली विकास बैंक (एडिबी) ले गरेको छ ।
एडीबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६.४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरिएको थियो । तर, त्यसपछि कोरोनाको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका निरोधात्मक कदमका कारण त्यसपछि भने आर्थिक गतिविधि खुम्चिन पुगे ।
त्यसपछि एडिबीले जुन २०२१ मा ३.१ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, मंगलबार तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १.५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
बैंकले मंगलबार इकोनोमिक आउटलुकमार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो ।
विश्व बैंकले केही समयअगाडि गरेको अनुमान २.१ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम छ ।
अघिल्लो आव ०७६÷७७ मा सरकारले २.२७ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । यसमा एडीबीको प्रक्षेपणसमेत मिल्ने देखिएको छ ।
एडीबीको तथ्यांकअनुसार सन् २०२० मा २.३ प्रतिशतको मात्र आर्थिक वृद्धि हुनेछ । यो वर्षको अन्तिम प्रतिवेदन भने सरकारले अझै सार्वजनिक गरिसकेको छैन ।
दक्षिण एसियाली मुलुकमा पर्यटन अर्थतन्त्रको मूख्य आधार भएका मुलुकको कुल गार्हस्थ उत्पादन सन् २०२० मा नराम्रोसँग खुम्चन पुग्यो ।
तर, चालू आवमा तीन मुलुकले भने फड्को मार्नेछन् । किनकि, सन् २०२० मा ती मुलुकको जीडीपी अत्यन्तै तल गिरेको छ ।
सन् २०२० मा माल्दिभ्सको आर्थिक वृद्धिदर २०.५ प्रतिशत कायम रहने प्रक्षेपण एडीबीको छ । मालदिभ्सले चालू आवमा सबैभन्दा बढी १०.५ प्रतिशत आर्थिक वृद्धि गर्ने अनुमान एडीबीको छ ।
भारतको ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान एडीबीले गरेको छ । आर्थिक वृद्धिदरको हिसाबले यो वर्ष दक्षिण एसियाली मुलुकमध्ये नेपाल र अफगानिस्तान सबैभन्दा कमजोर हुनेछन् ।







