विद्युत् प्राधिकरणबाट बिदा भए घिसिङ
नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ गरिएको छ । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई मंगलबार एक कार्यक्रमबीच कर्मचारीले बिदाइ गरेका हुन् ।
कार्यक्रममा घिसिङले नेतृत्वमा कोही आउन–जानु सामान्य प्रक्रिया भएको बताए ।
कर्मचारीले प्राधिकरणमा रातको १०–१२ बजेसम्म पनि काम गर्नु परेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको जानकारी दिए ।
उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शनअनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको दाबी गरे ।
०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा प्राधिकरणमा अबको प्रमुख को आउँछन् भन्ने टुंगिएको छैन ।
अर्को कार्यकालका लागि नियुक्त भए मात्रै उनी प्राधिकरण फर्किनेछन् । तर, उनलाई पुनः नियुक्त गर्न प्रधानमन्त्री केपी ओली तयार छैनन् ।
०५१ मा सातौं तहको इन्जिनियरबाट प्राधिकरणमा प्रवेश गरेका घिसिङ ०७३ भदौ २९ मा प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।
चिलिमे जलविद्युत् कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।
पहिलो कार्यकालमा १८ घन्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।







