वामदेवलाई राष्ट्रिय सभामा लगिने
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको बुधबारको बैठकले राष्ट्रिय सभा सदस्यमध्ये राष्ट्रपतिले मनोनीत गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
अर्थमन्त्री डा. युवराज खतिवडाबारे प्रधानमन्त्री ओलीले केही नभनेको उनको भनाइ छ ।
राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।
प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा दोहो¥याउन चाहे पनि पार्टीभित्रको शक्ति सन्तुलन विवाद मिलाउनैका लागि गौतमलाई राष्ट्रिय सभामा लैजान अन्ततः दबाब परेपछि यो निर्णय गरिएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको सदस्यमा मनोनीत भएका डा. खतिवडाको कार्यकाल गत २० फागुन ०७६ मै सकिएको थियो । राष्ट्रिय सभा सदस्यको पदावधि कायम हुने गोला प्रथामा खतिवडालाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको थियो ।
राष्ट्रिय सभा सदस्य पद नरहने भएपछि गत फागुन २० मा प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त भएका थिए । सरकारको प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गरिरहेका खतिवडाको पछिल्लो ६ महिने कार्यकाल २० भदौमा सकिँदै छ ।
भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनीत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले गौतमको नाम सिफारिस गरेको हो ।







