तोकिएको समय कांग्रेस महाधिवेशन नहुने संकेत
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । दुईपटक केन्द्रीय महाधिवेशनको मिति जारी राखेर तल्ला तहका अधिवेशनको मिति परिवर्तन गरेको कांग्रेसले कार्यतालिका नै प्रभावित भएपछि महाधिवेशनको पूर्वनिर्धारित समय नै सार्न लागेको हो ।
‘कोरोनाकै कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको अवस्था छ । त्यसकारण महाधिवेशन पनि सर्ने अवस्था आयो । यही समयमै हुन्छ भन्ने तय केन्द्रीय समितिले गर्ने भए पनि सर्ने सम्भावना रह्यो,’ सभापति शेरबहादुर देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन् ।
सभापतिलाई कामै गर्न नदिने गरी केही नेताहरू अघि बढेकाले समयमा महाधिवेशन हुने अवस्था टर्दै गएको उनले दाबी गरे ।
हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति कांग्रेसको छ ।
कांग्रेसले गत २२ असारमा कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने केन्द्रीय समितिको म्याद आगामी फागुनमा नै सकिने हुँदा फेरि ६ महिनाको म्याद थप गर्दा पनि भदौमै त्यो म्याद सकिने भएकाले वैशाख वा जेठमै महाधिवेशन गर्न देउवालाई सुझाव दिँदै आएको बताउँछन् ।
२०–२३ फागुन ०७२ मा सम्पन्न १३ औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थपेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै पनि पछिल्लो पटक तोकिएको १० साउनसम्ममा सकिनुपर्ने कांग्रेसको अन्तरिम संरचना समायोजनको काम अझै सकिएको छैन । कांग्रेस पार्टी कार्यालयले ६५ जिल्लामा समायोजनको काम सकिएको दाबी गर्दै आएको छ ।
कांग्रेस केन्द्रले दाबी गरेकाबाहेक बाँकी १२ जिल्लामा समायोजनमा विवाद देखिँदै आएको छ । प्रदेश २ का आठ जिल्लामा सबैभन्दा धेरै विवाद छ । यस्तै काभ्रे, सिन्धुपाल्चोक र मुस्ताङमा समेत समायोजनमा विवाद देखिँदै आएको छ ।
यसैगरी क्रियाशील सदस्यता वितरण र नवीकरणको मितिसमेत प्रभावित भएको छ । कांग्रेसले त्यसका लगि २५ असारदेखि साउन मसान्तसम्मको समय तोकेको थियो । कांग्रेसले भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन दिएको छ । सदस्यता वितरण नै नभएकाले यो मितिसमेत प्रभावित हुने निश्चित छ ।
कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणकै कारण प्रभावित भएको थियो ।
कांग्रेसले हरेक महाधिवेशनमा क्रियाशील सदस्यताकै कारण विवाद हुने गरेकाले यसपटक पहिले नै माग बढेको भन्दै शतप्रतिशत सदस्यता वितरण बढाउने निर्णय गरिसकेको छ ।
कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।







