‘छ माया छपक्कै’ले ल्यायो ‘बिच्च बिच्चमा’(भिडियो)
काठमाडौं – गत तीजमा जताततै प्रथामिकतामा परेको गायक दुर्गेश थापाको गीत ‘बिच्च बिच्चमा’लाई फिल्म ‘छ माया छपक्कै’ प्रमोसनल गीत बनाएको छ । २४ असोजबाट प्रदर्शनमा आउने यो फिल्मले शुक्रबार प्रमोसल गीतको रुपमा यो गीत सार्वजनिक गरेको हो ।
गायक दुर्गेश थापाले आफ्नो राम्रो चर्चा पाएको गीतलाई चलचित्रको प्रचार शैलीमा ढालेका छन् । ‘छ माया छपक्कै बिच्च बिच्चमा’ बोलको प्रमोशन गीतले चलचित्रको प्रचारमा ठूलै फाइदा पुर्याउने देखिएको छ ।गीतमा गायक दुर्गेश स्वयंको शब्द, संगीत र स्वर छ । भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा छायाँकन भएको गीतको भिडियोमा गायक दुर्गेश सहित कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी देखिएका छन् ।
प्यारोडी पारामा फिल्मको प्रचार गर्ने शब्द राखेर बनाइएको यो गीतमा फिल्म हेर्न दर्शकलाई आग्रह समेत गरिएको छ ।दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराजले एक युवा नेताको भूमिका छन् । दीपकको अलवा जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।







