फ्राइडे रिलिज :‘रातो टिका निधारमा’ सोलो रिलिज
फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि चलचित्र रातो टिका निधारमा प्रदर्शनमा आएको छ । निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको चलचित्रलाई यस वर्षको प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ ।
यसै चलचित्रबाट अशोक शर्माका छोरा अंकित शर्माले अभिनेताका रुपमा डेब्यू गर्दै छन् । अंकितको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रस्तुत गरिएको छ । अंकित यस अघिको चलचित्र जय भोलेमा निर्माताका रुपमा थिए ।उनले जयभोलेमा सहायक निर्देशकका रुपमा समेत काम गरेका थिए । ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको सङ्गीत, वसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाङ्कन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।
चलचित्रमा साम्राज्ञी र अंकितका साथमा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, वसुन्धरा भुसाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतको अभिनय रहेको छ ।दसैँको बिदा छोप्दै प्रदर्शनमा ल्याइएको यस चलचित्रलाई अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को थ्रेट भने प्रशस्तै छ । दर्शकमा ‘कबड्डी ३’ प्रतिको क्रेज अझै कम भएको छैन । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण हलमा दर्शकको उपस्थिति राम्रो छ ।







