इलाम र बाजुरामा उम्मेदवारी दिने नेकपा माओवादीको निर्णय
काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनमा आबद्ध नेकपा एमाले र रास्वपाले आगामी वैशाखमा रिक्त स्थानमा हुन लागेको निर्वाचनमा उम्मेदवारी उठाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारी दिने घोषणा गरेको छ। नेकपा माओवादीले इलाम क्षेत्र २ र बझाङको प्रदेशसभा १ ९क० मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो। उम्मेदवारी दिने निर्णय गरेपनि नेकपा माओवादीले उम्मेदवारको नाम भने सार्वजनिक गरेको छैन। इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ मा निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित कांग्रेस नेता पृथ्वीबहादुर सिंहको गत असार ५ मा निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको हो।
माओवादी पदाधिकारी बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। पदाधिकारी बैठकमा दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उनको भनाइ छ।
‘सत्ता गठबन्धनमा आबद्ध सबै दलले आ–आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका हौं,’ उनले भने, ‘यो पार्टीहरूको जनमत परीक्षणको विषय पनि हो।’ माओवादी पदाधिकारी बैठकअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सत्तारुढ एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमै छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले एमालेले इलाम २ मा उम्मेदवार तय गरिसकेको अवस्था रहेको र माओवादीले पनि आफ्नै उम्मेदवार उठाउनेबारे जानकारी गराएको बुझिएको छ। चैत २४ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।







