५४ लाख बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप
काठमाडौं– सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार ४६९ बालबालिकाले खोप लगाइसकेको विवरण स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको छ। बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए। गत फागुन १३ देखि दादुरा–रुबेलाको संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले पश्चिम रुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो।
ती जिल्लाका कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ। उनले चैत ७ सम्म सबै लक्ष्य हासिल गर्नेसमेत बताए। ‘हामीले सोचेजस्तै सबै बालबालिकाले खोप लगाएका छन्’, उनले भने, ‘हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन्।’ दादुरा–रुबेलाको अतिसंक्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लाका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ। खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ। खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोपकेन्द्र रहेका छन्।
यस्तै, ४९ हजार ९३७ स्वास्थ्यकर्मी र ५९ हजार ९०६ स्वयंसेवक परिचालन गरिएको छ।







