राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
काठमाडौं– राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन्। दाहालले प्रमुख प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार युवराज शर्मालाई पराजित गरी निर्वाचित भएका हुन्। मतदानमा सहभागी ५६ सांसदमध्ये दाहाललाई राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको थियो शर्माका पक्षमा १७ मत परेको थियो। निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना फागुन २० देखि कार्यकाल सकेर बिदा भएपछि आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन भएको हो। राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट सत्तारुढ नेकपा माओवादी केन्द्रसहित एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले दाहालको पक्षमा मत दिएका हुन्।
राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन्। दाहाललाई माओवादीका सांसद गोपीबहादुर अछामीले अध्यक्षमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमाले सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा।वेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए। कांग्रेसबाट उम्मेदवार रहेका शर्मालाई सांसद आनन्दप्रसाद ढुंगानाले अध्यक्षमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई कांग्रेस सांसद किरणबाबु श्रेष्ठ र लोसपा सांसद शेखरकुमार सिंहले समर्थन गरेका थिए। राष्ट्रिय सभामा सबैभन्दा धेरै माओवादी केन्द्र १८ सदस्यसहित पहिलो र दोस्रोमा १६ सदस्यसहित कांग्रेस रहेको छ। तेस्रोमा एमालेका १० सदस्य छन्। दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दाइ हुन्।







