राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहालको उम्मेदवारी
काठमाडौं– राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षी कांग्रेसका तर्फबाट आज उम्मेदवारी दर्ता भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गराएका हुन्। दाहालको प्रस्तावकमा सोही पार्टीका सांसद गोपीबहादुर अछामी र समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसाल र जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिद रहेका छन्।
उम्मेदवार शर्माको प्रस्तावमा कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका किशोरकुमार सिंह रहेका छन्। फागुन २९ मा हुने निर्वाचनका लागि आज दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम निर्धारण गरिएको छ। तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिएको थियो।







