फागुन ३० मा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समीकरण बदलेसँगै प्रतिनिधिसभाबाट बहुमत प्राप्तिका लागि फागुन ३० मा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले फागुन ३० मा विश्वासको मत लिने व्यवस्था मिलाइदिन संघीय संसद् सचिवालयलाई पत्र पठाएको हो। प्रधानमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी पत्र प्राप्त भएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। पत्रका सम्बन्धमा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सभामुख घिमिरेलाई जानकारी गराएका छन्। सभामुख घिमिरेले विश्वासको मत लिनेसम्बन्धी व्यवस्थाका लािग फागुन २९ मा कार्यव्यवस्था परामर्श बैठक बोलाएका छन्।
बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ। सत्ता समीकरण फेरिएसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेका हुन्। नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी पार्टी आबद्ध छन्।







