प्रधानमन्त्री प्रचण्डले राजनीतिक बेइमानी गरेको कांग्रेस निष्कर्ष
काठमाडौं– अकस्मात गठबन्धन तोडेर एमालेमा हाम फालेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको प्रतिपक्ष नेपाली कांग्रेसले आरोप लगाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आज बसेको कांग्रेस संसदीय दल बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासघात गर्दै गठबन्धन भत्काएको निष्कर्ष निकालेको हो। प्रधानमन्त्रीले गठबन्धन तोड्नुपर्नाका कारण भनेर बाहिर हल्ला गरेका विषय अत्यन्त काल्पनिक र भ्रमपूर्ण रहेको बैठकले निष्कर्ष निकालेको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक रुपमा बेइमानी र विश्वासघात गरेको पत्रकारलाई बताए। उनले भने, ‘प्रधानमन्त्रीबाट कांग्रेसलाई विश्वासघात भयो। गठबन्धन भत्काउनुभयो। अन्टसन्ट कारण देखाएर प्रचण्डले गठबन्धन भत्काएकाले यसलाई कांग्रेसले राजनीतिक बेइमानीका रूपमा लिएको छ। राजनीतिलाई प्रदूषित पार्ने काम प्रचण्डबाट भएको छ।’ आजको संसदीय दल बैठकले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार मात्रै सभापति निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले पनि गठबन्धन भत्काएर प्रधानमन्त्रीले अराजनीतिक संस्कारलाई बढावा दिएको निष्कर्ष निकालेको थियो । प्रधानमन्त्री प्रचण्डले २१ फागुनमा कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाउनुका साथै कांग्रेस मन्त्रीलाई पदमुक्त गरेका थिए। त्यसपछि नेकपा एससमेतलाई समेटेर एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित नयाँ गठबन्धन दलबाट बुधबार २० सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।
प्रचण्डले जनमतको अपमान गरेको आरोप
नयाँ सत्ता समीकरणसँगै आज बसेको संघीय संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदले उठाएका प्रश्न, फेरिएको राजनीतिलगायत विषयमा कांग्रेसलाई धारे–हात लगाएका छन्। पुरानो गठबन्धन तोड्नपरेका ६ कारण देखाएर प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोलेपछि प्रतिपक्षी कांग्रेसले त्यसको प्रतिकारस्वरुप प्रचण्डले जनमतको पनि घोर अपमान गरेको आरोप लगाएको हो। बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मुलुकको दिगो शान्तिका लागि पहल लिएको पार्टीसँग गठबन्धन भत्काएर प्रधानमन्त्रीले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध कुठराघात गरेको दाबी गरे।
‘मुलुकमा दिगो शान्ति, सुशासन, संविधानको रक्षा विकास र समृद्धि प्राप्त गर्ने राजनीतिलाई स्थिरता साथ अगाडि बढाउने सहमति नेकपा माओवादी केन्द्र र कांग्रेसबीच भएका थिए। प्रचण्डजीले गठबन्धनको मूल्य–मान्यता भत्काएर र सहमति तोडेर अर्को गठबन्धन बनाउनुभएको हो। कांग्रेसलाई लगाइएका आरोप निराधार हुन्। प्रधानमन्त्रीले कांग्रेसलाई हिन्दु राष्ट्र कायम गर्न खोजेको, कोसीमा बदमासी गरेकोलगायत ६ बुँदे आरोप लगाएका थिए।
गठबन्धनका नाममा प्रधानमन्त्री आफ्नो जिम्मेवारीबाट भाग्न खोजेको उनले बताए। ‘जनमतको अपमान गर्दै कपोकल्पित कथा बुनेर,सानातिना मुद्दा उठाएर आफ्नो जिम्मेवारीबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गरेकाले यसलाई हामीले भन्नैपर्छ, राजनीतिक बेइमानी हो,’ लेखकले भने। प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन भत्काएर एमाले नेतृत्वमा नयाँ गठबन्धन बनाएका छन्। प्रचण्डले गठबन्धन तोडेपछि कांग्रेसले समर्थन फिर्ता लिएको छ।
आज बसेको संसदीय दलको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। गठबन्धन फेरिराख्ने र आफू प्रधानमन्त्री पदमा रहिराख्ने कुरा उथलपुथल नभएको पनि लेखकले बताए। प्रधानमन्त्री प्रचण्डले सोमबार मात्रै आफू नमरुन्जेल राजनीतिक उथलपुथल ल्याइरहने र सत्ताका लागि पहल गरिरहने बताएपछि लेखकले यस्तो धारणा सार्वजनिक गरेका हुन्।







