माधव नेपाललाई भेट्न कोटेश्वर पुगे कांग्रेस सभापति देउवा
काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो राजनीतिक अवस्थाबार विमर्श गर्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। प्रतिनिधिसभामा झिनो सिट संख्या रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुई–दुईपल्ट काँध थापेर धोका पाएका सभापति देउवा बिरामी भएर घरमै स्वास्थ्यलाभ गरिरहेका अध्यक्ष नेपाल भेट्न प्रमुख सचेतक रमेश लेखक र पत्नी आरजु राणालाई समेत सँगै लिएर बुधबार बिहान करिब १० बजे कोटेश्वर पुगेका हुन्। कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मंगलबार साँझ नै देउवा आउन लागेको सन्देश बूढानीलकण्ठबाट पठाएका थिए। सोहीअनुसार आज देउवा नेता नेपाललाई भेट्न कोटेश्वर निवास पुगेको नेकपा एसका नेता वेदुराम भुसालले बताए।
‘बिहान ९ बजे आउने भनेर खबर आएको थियो। हाम्रा अध्यक्षलाई स्वास्थ्यलाभको कामना गर्न सभापति देउवा आउन लागेको खबर आएको थियो’, भुसालले भने। कांग्रेसलाई गठबन्धनबाट हटाएपछि राजनीतिक समीकरण बदलिएका बेला सत्तामा जाने÷नजाने निर्णय भइनसकेको नेकपा एसका अध्यक्षलाई भेट्न सभापति देउवा कोटेश्वर पुगेका हुन्। आजै एकीकृत समाजवादीको सचिवालय बैठक बिहान ११ बजेदेखि बसिरहेको छ।







