प्रधानमन्त्री प्रचण्डले एक्लाएक्लै भेटे देउवा र ओली
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्डले संसद्को कानुन न्याय तथा मानव अधिकार समितिमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग एक्लाएक्लै भेटेका छन्। प्रधानमन्त्री प्रचण्डले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एमाले अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता भेटेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा पारित गर्न सहयोग माग गरेका हुन्। एमाले अध्यक्ष ओलीसँग छलफल भइसकेपछि प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग कुराकानी गरेका थिए।
संसद्को कानुन,न्याय तथा मानव अधिकार समितिमा संक्रमणकालीन न्यायका विषयमा छलफल हुनुअघि प्रचण्डले देउवा र एमाले अधयक्षसँग भेटवार्ता गरेको बुझिएको छ। दलहरूबीच कुरा मिल्न नसक्दा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को कानुन समितिमा लामो समयदेखि अड्किएको छ। प्रतिनिधिसभा समितिमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले लगातार छलफल गरे पनि सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री प्रचण्डले यो विधेयक २०७९ फागुन २५ मा संसद्मा दर्ता गरेका थिए। प्रतिनिधिसभामा रहेको विधेयकमा सहमति जुटाउन गत जेठ ५ मा विभिन्न राजनीतिक दलमा आबद्ध ११ सदस्यीय उपसमिति गठन गरिएको थियो।
उपसमितिले चारवटा मिल्न बाँकी रहेका विषय थाती राखेर गत असोज २३ मा प्रतिवेदन तयार पारेको थियो। तर दलहरूले उपसमितिलाई सहमतिकै प्रतिवेदन ल्याउन भनेपछि समितिमा फेरि छलफल सुरु भएको थियो। मानव अधिकारको गम्भीर उल्लंघनमा समावेश गरिएको स्वैच्छाचारी क्रूरतापूर्वक गरिएको हत्या÷दोहोरो भिडन्तबाहेक गरिएको हत्यामध्ये कुनलाई समावेश गर्ने भन्ने विषय समितिमा छलफलकै क्रममा छ। सशस्त्र द्वन्द्वको क्रममा जोडिएका र प्रभावित भएका व्यक्तिलाई कसरी सम्बोधन गर्ने भन्ने, मानव अधिकारको उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्ने विषय पनि टुंगिन बाँकी छ। शीर्ष नेताहरूबीच सहमति नभएसम्म संक्रमणकालीन न्यायका विषयमा जति छलफल गरे पनि टुंगोमा पुग्न नसकिने समितिका सदस्यहरूले बताउँदै आएका छन्, यसअघि प्रधानमन्त्री प्रचण्डले शनिबार टिआरसीकै विषयमा रास्वपा अध्यक्ष रवि लामिछानेसँग पनि छलफल गरेका थिए। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक सहमतिमा पारित गराउन प्रधानमन्त्रीले सहमतिका लागि निरन्तर प्रयास गर्दै आएको प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।







