कांग्रेस सभापति देउवाले भने– गठबन्धन टुट्दैन
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेकाले गठबन्धन नटुट्ने दाबी गरेका छन्। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुगेका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताएका हुन्। एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टीकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरे।। पछिल्लो समय राष्ट्रिय सभा अध्यक्ष को हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुंगो लगाइने स्पष्ट पारे। कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन। गठबन्धन दलबीच छलफलपछि मात्रै टुंगो लाग्छ’, उनले भने।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँगै झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली पनि चितवन जाँदै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै चितवन पुगिसकेका छन्। नारायणी नदी किनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ। उद्घाटनअघि आजै भरतपुरका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित ¥याली निकालिएको छ।







