बंगलादेशसँग विद्युत् बिक्री सहमति छिट्टै ः कुलमान घिसिङ
काठमाडौं– नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत् बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ।
आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबीअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच बिहीबार बंगलादेशको ढाकामा वार्ता भएको थियो।
विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदामा विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।
‘बिपिडिबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत बिक्रीको परिणामसहितको बोलपत्र पेस गरेका थियौं। हामीले पेस गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदामा विस्तृत रुपमा छलफल गर्यौं’, घिसिङले भने, ‘उनीहरुले पनि माथिल्लो निकायबाट स्वीकृति लिनुपर्ने रहेछ। स्वीकृतिलगायत प्रक्रिया जतिसक्दो छिट्टो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ।’
प्राधिकरणले यसै हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत निर्यातका बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ। विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ।
नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ।







