बालकुमारी घटनाः गृहमन्त्री र भौतिक मन्त्रीलाई बर्खास्त गर्न एमाले माग
काठमाडौं–प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेको छ।
आजको प्रतिनिधि सभा बैठकमा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले पुस १४ मा दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा गृहमन्त्री र भौतिक मन्त्रीको लापर्वाही देखिएकाले बर्खास्तीको माग गरेका हुन्।
बालकुमारी घटनाबारे जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्ष निकालेको थियो।
आयोगले मन्त्री ज्वालाले नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिससमेत गरेको थियो।
आयोगले मन्त्रीलाई नै दोषी ठहर गर्दासम्म पनि प्रधानमन्त्रीले बर्खास्त नगरेको भन्दै एमालेले उनीहरूलाई तत्काल पदबाट हटाउन माग गरेको हो।
‘सरकारको मन्त्री मुख्य दोषी भनेर किटान गरेको आज २८÷३० घन्टा बितिसक्दासमेत मन्त्री पदमा बहाल हुनुहुन्छ। मन्त्रीलाई बर्खास्त गरेको सूचना हामीले पाएनौं,’ बर्तौलाले भने, ‘घटनामा जोडिएको मन्त्रीलाई जिम्मेवारीबाट हटाइयोस्, बर्खास्ती गरियोस्।’
घटनापछि कर्मचारी र प्रहरीलाई विभागीय कारबाही गरिए पनि मन्त्रीलाई खतमाफ दिइएकामा एमाले रुष्ट बनेको छ।







