नेकपा एसको केन्द्रीय परिषद् बैठक समापन हुँदै
काठमाडौं– सत्तारुढ नेकपा एसको
आइतबारबाट सुरु भएको दुईदिने विधान संशोधन लक्षित केन्द्रीय परिषद् बैठक आज समापन गरिने भएको छ।
बैठकमा पेस भएको विधान संशोधन मस्यौदामाथि आज १० जना टोली नेताले धारणा राखेपछि निष्कर्ष सुनाएर बैठक सक्ने तयारी गरिएको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
‘११ बजेपछि १० वटा टोली नेताले विधान संशोधनबारे आ–आफ्नो लिखित प्रस्तुति दिइरहनुभएको छ। प्रस्तावमा उहाँहरूले राखेका प्रस्तुतिसमेतलाई समेटेर निष्कर्ष सुनाइनेछ र बैठक समापन हुन्छ’, नेता खतिवडाले भने।
करिब १ हजार बढी प्रतिनिधि सहभागी बैठकमा प्रस्तुत विधान मस्यौदामा संशोधनका लागि विकल्पसहितका प्रस्ताव गरिएको छ।
नेकपा एसमा पार्टी पदाधिकारीको निर्वाचन प्रत्यक्ष गर्ने कि अप्रत्यक्ष गर्ने भन्ने विषयमा विवाद हुँदै आएको छ।
महाधिवेशन प्रतिनिधि वडा कमिटीबाटै निर्वाचित हुने वा मनोनीत गर्ने भन्ने विषय पनि विधानले व्यवस्था गर्नेछ। ‘केन्द्रीय सदस्यले चुनाव लडेर प्रतिनिधि बन्ने व्यवस्था गर्ने या नपर्ने भन्ने सोधिएका प्रश्नको उत्तर लिएर निर्णय हुन्छ’, नेता खतिवडाले भने।
यसबाहेक केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीको संख्याबारेसमेत विधानले व्यवस्था गर्नेछ।







