भारतीय दूतावासले २० करोड रुपैयाँ आफूखुसी खर्चिन नपाउने प्रधानमन्त्रीको दाबी
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग बिहीबार भएको चारबुँदे सम्झौतामा काठमाडौंस्थित भारतीय दूतावासले २० करोडसम्मको रकम आफूखुसी खर्चिन पाउने भन्ने विषय विवादमा पारिएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोलाइएका प्रधानमन्त्री प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्।
भारतीय दूतावासले प्रक्रियामा रहेर मात्रै तोकिएको रकम खर्च गर्न सक्ने उनको भनाइ छ।
राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले यसबारे सोधपुछ गरेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिएका हुन्।
‘भारतले जहाँ पायो त्यहीँ लगानी गर्ने या जसरी मन लाग्यो त्यसरी गर्ने भन्ने छैन। त्यसको प्रक्रिया छ। नगरपालिका, गाउँपालिका वा अन्यत्र कहाँ रकम खर्चिने हो, त्यो प्रक्रियाबाट जानैपर्छ,’ उनले भने।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले सीधै २० करोडका योजनामा खर्च गर्न पाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
दूतावासले सीधै खर्चिन पाउने रकमको विषयलाई लिएर सत्तारुढ र प्रतिपक्षी एमाले नेताहरुले पनि विरोध जनाएका छन्।
बैठकमा प्रधानमन्त्री प्रचण्डले भारतसँग भएको विद्युत् व्यापार सम्झौता राष्ट्रिय हितमा भएको दाबी गरे।
भारतले उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआइसिडिपी) अन्तर्गत नेपाललाई दिन सम्झौता गरेको २० करोड रकम खर्चिने मापदण्ड र प्रक्रियाको विषयमा विवाद देखिएको हो।







