भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा
काठमाडौं– भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमणका क्रममा काठमाडौं ओर्लिएका छन्।
बिहीबार त्रिभुवन विमानस्थलमा भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाली समकक्षी एनपी साउदले स्वागत गरे।
मन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपालसँग विद्युत् व्यापार सम्झौता हुने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठ तेस्रो साता गरेको भारत भ्रमणमा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता गर्ने समझदारी भएको थियो।
सम्झौतामा नेपालका ऊर्जा सचिव गोपाल सिग्देल र भारतीय समकक्षी पंकज अग्रवालले हस्ताक्षर गर्ने बताइएको छ।
जयशंकरको भ्रमणका क्रममा ३ वटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन हुने बताइएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन नेपाल आएका हुन्।
संयुक्त आयोगको बैठक पुस १९ र २० मा काठमाडौं बस्दै छ। संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी डा जयशंकरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री डा जयशंकरले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने तालिका छ।
आजै दिउँसो होटल याक एन्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ।







