राष्ट्रिय सभामा भागबन्डा मिलाउन कांग्रेस–माओवादी बैठक निरन्तर
काठमाडौं–सत्तारुढ कांग्रेस–नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रिय सभा निर्वाचनको भागबन्डा मिलाउन आज पनि छलफलमा बसेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच भागबन्डाबारे छलफल भएको हो।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।
रक्षामन्त्री समेत रहेका खड्काले राष्ट्रिय सभाका उम्मेदवार टुंग्याउन विषयमा छलफल भएको बताए। ‘राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने सन्दर्भमा नियमित छलफल गर्न बैठक बसेको हो। भागबन्डा मिलाउने विषयमा छलफल भइरहेको छ। कसरी मिलाउने भन्ने टुंगेको छैन,’ उनले भने।
आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ।







