हिन्दु धर्ममाथि प्रहारः क्रिसमस मनाउन राक्सिराङले दियो तीन दिन बिदा!
काठमाडौं– ९० प्रतिशत हिन्दु धर्मावलम्बी रहेको नेपालमा हिन्दु धर्मलाई पछिल्लो समय कम्युनिस्ट नाममा हिलो छ्याप्ने काम भएको छ। विशेषगरी नेकपा माओवादी सत्तामा गएसँगै हिन्दु धर्मलाई होच्याउने, गिज्याउने क्रमले व्यापकता पाएको हो।
केही दिनअघि नेकपा माओवादीबाट संघीय संस्कृतिमन्त्रीसमेत रहेका गोपाल किराँतीले क्रिस्चियन धर्म नमान्नेलाई जेल हालिने चेतावनी दिएका थिए। त्यसको विरोधमा हिन्दु धर्मका विभिन्न संघसंगठनले मन्त्री किराँतीको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन्।
नेकपा माओवादीले हिन्दु धर्मलाई तिरस्कार र अपहेलित गर्छ भन्ने पछिल्लो उदाहरण पशुपति क्षेत्र विकास कोषमा क्रिस्चियन धर्मप्रति आस्था राख्नेलाई नियुक्त गरेर देखाएको छ। यसबाट पनि माओवादी राजनीतिक लाभका लागि मिलेर बसेका नेपाली समुदायलाई धर्मका नाममा विद्वेषको बिउ रोप्न तल्लीन देखिन्छ।
माओवादी मन्त्रीहरुको हिन्दु धर्मविरोधी गतिविधिपछि क्रिसमसका तीन दिन सार्वजनिक बिदा दिएर मकवानपुरको एउटा पालिकाले हिन्दु धर्मावलम्बीलाई चिढ्याएको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा दिएको छ। बिदा दिनुको कारणमा उक्त पालिकामा ४६ प्रतिशतल क्रिस्चियन धर्म मान्दै आएको बताइएको छ।
गाउँपालिका आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिने निर्णय गर्दै सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था, सरकारी कार्यालय एवं बैंक तथा वित्तीय संस्था बन्द रहने जानकारी दिएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत आफ्नो पालिकामा इसाई धर्मावलम्बीको उल्लेख्य बसोबास रहेकाले ३ दिन बिदा दिइएको दाबी गरे।
मल्ल नेकपा माओवादीबाट पालिकामा निर्वाचित अध्यक्ष हुन्।







