एनसेल खरिद–बिक्रीमा अनियमितता गर्नेलाई कारबाही : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल सेयर खरिद–बिक्रीमा कानुनविपरीतका गतिविधि भएको देखिएको बताएका छन् ।
आज संसद्को राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएका प्रधानमन्त्री प्रचण्डले एनसेल सेयर खरिद–बिक्री कानुनविपरीत भएको देखिएपछि छानबिन समिति गठन गरिएको बताए ।
छानबिन समितिले दिने निष्कर्षका आधारमा यसमा संलग्न जोसुकैलाई सरकारले कारबाही गर्ने उनको भनाइ छ ।
उनले भने, ‘छानबिन प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कारबाही अगाडि बढाउँछ ।
एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र कर छलीको विषय समाचार माध्यममा बाहिरिएपछि सरकार छानबिनमा लागेको उनको दाबी थियो ।
बैठकमा सञ्चारमन्त्री रेखा शर्माले एनसेल खरिद–बिक्रीबारे पछिल्लो समय कुनै पनि प्रक्रिया अगाडि नबढाएको जानकारी दिइन् ।







