सर्वोच्चमा ६ न्यायाधीश रिक्त, प्रस्तावित दुई जनाको संसदीय सुनुवाइ
काठमाडौं–सर्वाेच्च अदालतका प्रस्तावित ६ मध्ये दुई जनाको संसदीय सुनुवाइ भएको छ ।
सर्वोच्चमा प्रस्तावित ६ मध्ये दुई जनालाई संसदीय सुनुवाइ समितिले सवालजवाफ गरेको हो ।
संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरे ।
उनीहरुले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाँचौं रणनीति योजना तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता व्यक्त गरे ।
पुराना बक्यौता मुद्दा न्यूनीकरणका लागि विशेष सक्रियता, फरक मुद्दा पद्धतिको प्रभावकारी कार्यान्वयन, अदालतबाट भएका फैसलाको कार्यान्वयनको सुनिश्चिता, पीडित क्षतिपूर्ति प्रणालीको प्रभावकारी कार्यान्वयन पहल गर्ने विषयमा पनि प्रस्तावित न्यायाधीशद्वयले जोड दिएको समितिले जनाएको छ ।
न्यायिक सुशानमा समर्पण र जोड, सजाय निर्धारणसम्बन्धी मार्गदर्शको विकास र विस्तार, न्यायमा पहुँच अभिवृद्धि, न्यायपालिकाको वस्तुस्थिति र विश्लेषण, न्याय सम्पादनका मार्गदर्शक आधारसहितको कार्ययोजना र प्रतिबद्धता उनीहरुले प्रस्तुत गरे ।
यसअघि सर्वाेच्चका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ भने सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आगामी बैठकमा सुनुवाइ हुनेछ ।







