त्रिविको ४९औं दीक्षान्तः १२ हजार बढी विद्यार्थी दीक्षित
काठमाडौं– नेपालकै सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयले आज ४९औं दीक्षान्त समारोह आयोजना गरिएको छ । दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल दशरथ रंगशाला आएका छन्।
बिहान १० बजेदेखि विद्यार्थीका लागि प्रवेश खुला गरिएको छ भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरु भएको त्रिवि सूचना शाखाले जनाएको छ ।
यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित भएको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए । त्रिविका विभिन्न संकायमा २०७९ असारदेखि २०८० असार मसान्तसम्म ७३ हजार विद्यार्थी उत्तीर्ण भएका थिए।
यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गरिएको छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको हो ।
त्यस्तै, एमफील र पीएचडीतर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको सूचना अधिकारी दाहालले बताए ।
यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने वितरण गरिने छैन ।







