कोसी प्रदेशमा ‘बजेट होलिडे’
काठमाडौं– सत्ता राजनीतिले गिजोलिँदै गरेको कोसी प्रदेश सरकारलाई खर्च जुटाउने चिन्ता थपिएको छ। यसअघि गत १४ असारमा एमाले नेतृत्वको प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट ६० दिनभित्र अनुमोदन नहुँदा बजेट होलिडे सुरु भएको हो।
एमाले सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्ने विधेयक दर्ता नहुनु र संसद् बैठक नचलेकै कारण अध्यादेश बजेट अनुमोदन नहुँदा प्रदेशमा बजेट होलिडे सुरु भएको हो।
दुई–दुईपल्ट प्रदेश सरकारको नेतृत्वमा पुगेका उद्धव थापालाई सर्वोच्च अदालतले पछिल्लो समय मुख्यमन्त्री हुँदा संविधानअनुसार विश्वासको मत लिए÷नलिएको विषयमा महत्त्वपूण निर्णय गर्न रोक लगाएकै कारण हाल प्रदेशसभा बैठक बस्न सकेको छैन।अध्यादेशबाट ल्याइएको बजेट ६० दिनभित्र अनुमोदन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर सरकारले न उक्त अध्यादेश अनुमोदन गरायो, न त प्रतिस्थापन विधेयक नै ल्यायो। सोही कारण प्रदेशसभामा होलिडे सुरु भएको हो।
कोशीमा बजेट होलिडे सुरु भएपछि प्रमुख प्रतिपक्षी एमाले अदालत जाने भएको छ। आफूले ल्याएको अध्यादेश बजेटलाई अनुमोदन गराउनुपर्ने एमाले माग छ।प्रदेशमा बजेट होलिडे हुँदा सरकारको खर्चपानी, कर्मचारीको तलब भत्तासमेत रोकिनेछ।







