पशुपति दर्शन गरेर फर्किंदै गरेको बस पल्टिँदा सात जनाको मृत्यु, १८ घाइते
काठमाडौं– पशुपतिनाथ दर्शन गरेर काठमाडौंबाट जनकपुर जाँदै गरेको बस बारामा दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।
भारतीय तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राती करिब १ बजे बाराको जितपुरसिमरा उपमहानगर–२२ चुरियामाईमा दुर्घटनाग्रस्त भएको हो ।
बसमा सवार यात्रुमध्ये हालसम्म सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले बताए । तीनको घटनास्थलमै र चार जनाको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनको भनाइ छ।मृतकमध्ये एक नेपाली र ६ जना भारतीय रहेका छन्।
मृतकको सातै जनाको सनाखत भएको प्रहरीले जनाएको छ। बसमा सवार घाइते १८ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा चार महिला र तीन जना पुरुषको मृत्यु भएको छ।
चालकसहित २७ यात्रु सवार उक्त चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण खोलामा खसेको बताइएको छ।







