कांग्रेस नेता गच्दारसँग सीआईबीले लियो बयान
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग पनि बयान लिएको छ।
कांग्रेस नेतासमेत रहेका गच्छदारसँग सीआईबीले सोमबार बेलुकी बयान लिएको हो। ललिता निवास जग्गा प्रकरणमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि गच्छदार फरार थिए। गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भए पनि सीआईबीले बयान लिएर छाडिदिएको छ।
ललिता निवासको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छदार संलग्न रहेको सीआईबी अनुसन्धानमा देखिएको थियो। हाल सोही प्रकरणमा १८ जना हिरासत छन्।
२०७४ वैशाखमा उप–प्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरेका गच्छदार २०६८ मा गृहमन्त्री थिए। गच्छदार भौतिक योजना तथा निर्माणमन्त्री हुँदा ललिता निवास प्रकरणमा मुछिएका हुन्। गच्छदारसँगै राज्यमन्त्री सञ्जय साह ‘टकला’, तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातलाई पनि सीआईबीको छानबिनले दोषी ठहर गरेको छ।
सीआईबीले सोही प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, बाबुराम भट्टराईसँग आइतबार बेलुकी र तत्कालीन भूमिसुधारमन्त्री चन्द्रदेव जोशीसँग सोमबार बयान लिइसकेको छ।







