प्रतिनिधिसभा बैठक बस्दै, एमालेबाट अवरोधको संकेत
काठमाडौं–सुन तस्करी प्रकरणलाई लिएर १० साउनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
पछिल्लो पटक २९ साउनमा एमाले अवरोधका कारण सञ्चालन हुन नसकेको बैठक सभामुख देवराज घिमिरेले सूचना टाँसेर आजका लागि तय गरेका थिए ।आजको बैठक पनि सहज ढंगले सञ्चालन हुनेमा आशंका छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बेलुकी एमाले अध्यक्ष केपी ओलीसँग संसद् खुलाउन वार्ता गर्ने र आजदेखि नियमित चल्ने बताए पनि सत्तापक्ष र प्रतिपक्षबीच बैठक बसेन ।संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बैठक तय भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउनेलगायत विभिन्न ८ कार्यसूची पेस गर्नेछन् ।
एमालेले लगातार संसद् अवरुद्ध गर्दा लामो समयदेखि बैठक कार्यसूचीमा अघि बढ्न सकेको छैन ।विमानस्थलबाट बरामद गरिएको सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने एमाले मागलाई सरकारले खारेज गरेको छ ।
सोही कारण आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक पनि एमालेबाट अवरोध हुने आशंका यथावत् छ ।







