रास्वपाले माग्यो ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुखको आवेदन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग प्रमुखको आवेदन माग गरेको छ । रास्वपाले पदाधिकारी र सदस्यसहित आयोग प्रमुखको आवेदन मागेको हो ।
पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिबद्धता र उद्देश्यबमोजिमका कार्यमा हुन सक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मूल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिमा समेत अनुशासन आयोग बनाउन लागेको हो ।
पार्टी सदस्यता लिएकामध्येबाट खुला आवेदन माग गरी पदपूर्ति गर्ने उसले बताएको छ ।‘पार्टीका सदस्य एवं पदाधिकारीलाई असल, आचरणयोग्य बनाउन साथै अनुशासन र आचरण उल्लंघन गरेको अवस्थामा अनुसन्धान गर्ने, प्रमाण संकलन गर्ने र सजाय गर्न पार्टी विधान २०७९ को धारा ५५ (५) च को अधीनमा रही केन्द्रीय अनुशासन आयोग नियमावली, २०८० जारी भएको हुँदा उक्त नियमावलीको अधीनमा रही यस पार्टीको सदस्य लिएकाबाट पदपूर्ति गरिनेछ,’ रास्वपाको सूचनामा उल्लेख छ ।
रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुने छ । प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ । पदाधिकारी कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एकजना कानुनमा स्नातक गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
जिल्ला अनुशासन समिति ३ सदस्यीय हुनेछ । एक जना प्रमुख र दुई जना सदस्य रहने व्यवस्था गरिएको छ । प्रमुखको हकमा स्नातक गरेको हुनुपर्ने र सदस्यमध्ये एकजना कानुन क्षेत्रमा अध्ययन र अनुभव भएको महिलालाई प्राथमिकता दिनुपर्नेछ ।
आयोगमा बस्न चाहने व्यक्तिको उच्च नैतिक चरित्र र असल सामाजिक आचरण भएको हुनुपर्नेछ ।







