आज पनि प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, एमालेले अवरोध गर्ने
काठमाडौं– मुख्य प्रतिपक्षी एमालेले १० साउनदेखि अवैध सुन तस्करी प्रकरणलाई लिएर प्रतिनिधिसभा र राष्ट्रिय सभा मंगलबार केही बेर खुलाएपछि फेरि अवरुद्ध बनेको छ ।
मंगलबारको गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोल्न दिएलगत्तै एमालेले अवरोध गरेको प्रतिनिधिसभा बैठक आजका लागि बोलाइए पनि अवरोध हुने देखिएको छ।हिजो अवरुद्ध प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि संसद् सचिवालयले बोलाए पनि माग पूरा नहुन्जेल चल्न नदिइने एमाले नेता गोकर्ण विष्टले बताए ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेलगायत कार्यसूची छन् ।
एमालेले आजको बैठकमा पनि अवरोध गर्ने तयारी गरेकाले कार्यसूचीअनुसार संसद् चल्ने आशंका भने यथावतै छ ।
मंगलबार सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिए पनि एमालेले सन्तुष्टि नमिलेको भन्दै नाराबाजी गरेर सदन बन्द गराएको थियो । सुन प्रकरणमा संसदीय छानबिन समिति गठनको एकसूत्रीय माग राखेर अवरोध गरिँदा सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रतिपक्षी एमालेका कारण संसद् चल्न सकेको छैन ।







