सुन तस्करी प्रकरणका आरोपीको म्याद ७ दिन थप
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद थप सात दिन थपिएको छ ।
राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि काठमाडौं जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।
म्याद मिलानपछि उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सिआइबीलाई अनुमति पाएको छ ।‘म्याद मिलान गरी सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ । अब अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउनेछ,’ प्रवक्ता कडायतले भने ।
सिआइबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ ।आइतबार राजस्व अनुसन्धानबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सिआइबीले आजदेखि अनुसन्धान थालेको हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अनुसन्धान गर्ने जिम्मा सिआइबीले लिएको हो ।
राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सु’ मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन बरामद गरेको थियो ।







