पहिरो खसेपछि एक दर्जन सडक अवरुद्ध
काठमाडौं–निरन्तरको वर्षाका कारण पहिरो जाँदा १२ वटा सडक अवरुद्ध भएका छन् ।नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कालिखोलाको पहिरो पन्छाउने प्रयास भइरहेको छ ।मकवानपुरस्थित कान्ति लोकपथ र हेटौंडा–भैँसे–भीमफेदी–कुलेखानी सडक अवरुद्ध भएको छ। स्थानीय निकाय र सुरक्षाकर्मीले हेटौंडा–कुलेखानी सडक एकतर्फ खुलाएका छन्।
यस्तै, सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ। म्याग्दीस्थित बेनि–जोमसोम, बागलुङको कालीगण्डकी करिडोर, प्युठानस्थित प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध भएको छ ।पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग र दाङस्थित लमही–घोराही सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेशस्थित मुगु–नाग्मा सडक अवरुद्ध भएको छ ।
मुगु–नाग्मा चल्ने सडकमा साना गाडी चले पनि ठूला सवारी पास हुन नसकेको प्रहरीले बताएको छ । यस्तै, कैलालीको भीमदत्त राजमार्ग पनि पहिरोकै कारण अवरुद्ध भएको छ ।







