अवैध सुन प्रकरणका १७ आरोपी सीआईबीको हिरासतमा
सरकारले अवैध सुन प्रकरणमा राजस्व विभागले गर्दै आएको छानबिन कार्य प्रहरीलाई सुम्पिएपछि आरोपीलाई सीआईबीको हिरासतमा राखिएको हो ।
काठमाडौं– अवैध एक क्विन्टल सुन बरामद प्रकरणमा पक्राउ परेर राजस्व अनुसन्धान विभागको नियन्त्रणमा रहेका १७ आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा राखिएको छ ।सरकारले अवैध सुन प्रकरणमा राजस्व विभागले गर्दै आएको छानबिन कार्य प्रहरीलाई सुम्पिएपछि आरोपीलाई सीआईबीको हिरासतमा राखिएको हो ।

राजस्व अनुसन्धान विभागबाट थप मिसिल अध्ययन र अनुसन्धानका गर्न भन्दै पत्र आएसँगै सबै अनुसन्धानको मिसिल र आरोपीलाई सीआईबी हिरासतमा राखिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।‘आइतबार बेलुकी आरोपीसहित मिसिल आइपुगेको छ । अब आज अनुसन्धान अधिकृत तोकेर मिसिलको अध्ययन तथा थप अनुसन्धान अघि बढ्छ’, उनले भने ।
यसअघि गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिन निर्देशन गरेका थिए ।उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर थप अनुसन्धानको जिम्मा सीआईबीलाई हस्तान्तरण गरिएको हो । उक्त प्रकरणमा अब सीआईबीले आर्थिकलगायत संगठित र अन्तरदेशीय अपराधको सन्दर्भमा पनि अनुसन्धान थाल्नेछ ।
विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक सु’मा हालेर ल्याइएको अन्दाजी १०० किलो सुन बरामद गरेको थियो। उक्त सुन अहिले परिमाण यकिन गर्न राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोप १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई तारिखमा छाडिए पनि १७ हिरासतमा छन् ।
विभागका महानिर्देशक नवराज ढुंगानाले विभागबाट एक चरणको अनुसन्धान सकिएको र अब बाँकी अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिइएको बताए ।







