संवैधानिक परिषद्ले खुलायो भागबन्डाको आवेदन
सचिवालयले महालेखा परीक्षकदेखि मुस्लिम आयोगको सदस्यसम्मका लागि माग्यो आवेदन
काठमाडौं–विभिन्न संवैधानिक आयोगमा रिक्त पदका लागि संवैधानिक परिषद्को सचिवालयले आवेदन मागेको छ । राजनीतिक दलबीच बाँडीचुँडी हुँदै आएको पदका लागि औपचारिकता वहन गर्न सचिवालयले निवेदन मागेको हो ।
आज सचिवालयले सूचना प्रकाशित गर्दै महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो ।नेपालको संविधानबमोजिम संवैधानिकका पदमा नियुक्त हुन योग्यता पुगेका व्यक्तिको अभिलेख तयार गर्ने प्रयोजनका लागि सूचना प्रकाशित गरिएको सचिवालयले बताएको छ ।
एकभन्दा बढी पदका लागि आवेदन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम भर्नुपर्नेछ ।नेपालको संविधानबमोजिम संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

आवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना तथा समाचार खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषद् सचिवालयको इमेल ठेगानामा पठाउन संवैधानिक परिषद् (कार्यविधि) नियमावली, २०६८ बमोजिम सूचना प्रकाशन गरिएको भनिएको छ ।







