माओवादी केन्द्रको केन्द्रीय समिति बैठकअघि बस्दै पदाधिकारी बैठक
बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नेतृत्व छनोट निर्वाचनका माध्यमबाट गरिनुपर्ने, भ्रष्टाचारमा मुछिएका नेताहरुबारे पार्टी धारणा माग्ने सदस्यहरुको संख्या ठूलो छ।
काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। दिउँसो गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेको माओवादीले जनाएको छ ।
आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि पदाधिकारी बैठक आह्वान गरिएको माओवादी नेता गिरिराजमणि पोखरेलले बताए।
केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पुनर्जीवन दिने हो भने नेतृत्व छनोट निर्वाचनका माध्यमबाट गरिनुपर्ने, प्रधानमन्त्री, मन्त्रीका निजी सचिवालयमा आफन्तलाई राख्न नहुने, पार्टी नेतृत्वमा भागबन्डा हुन नहुने, भ्रष्टाचारमा मुछिएका नेताहरुबारे पार्टी बोल्नुपर्नेलगायत विषय उठाएका छन् ।
शनिबारको बैठकमा जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेताले आ–आफ्नो धारणा राखेका थिए। वर्षमानमाथि पछिल्लो समय सुन तस्करसँग उठबस् गरेको आरोप लागेको छ । बैठकमा मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम–कारबाहीबारे छलफल भइरहेका छन् ।
बैठकमा ४०७ केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।







