प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्मका लागि स्थगित
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् सञ्चालनको प्रक्रिया प्रभावित भएको हो ।
प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो। बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ। संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।
गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको क्वीन्टलबढी तस्करीको सुन सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको प्रकरणमा उच्चस्तरीय छानबिन बनाउन एमालेले माग गर्दै आएको छ ।
सो प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै एमालेले गत साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो भने साउन १५ गतेका लागि तय भएको बैठक पनि एमालेको अडानका कारण सूचना टाँस गरेर स्थगित भएको थियो ।








