सभापति चयन नगरे संसदीय समितिको बैठकमा सहभागी नहुने योगेश भट्टराईको चेतावनी
काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् ।
आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको बताए । ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय भएको भट्टराईले अगाडि भने, ‘संसदीय समितिका सभापतिहरु पनि एक महिनाभित्र चयन गर्ने अभ्यास हो, तर ३ महिनासम्म हुन सकेको छैन ।’
उनले सरकारले सत्तागठबन्धन भित्रको भागवण्डा मिलाउन नसकेर प्रतिपक्षी दललाई देखाएर सभापति चयनमा ढिलाई गरिरहेको अरोप लगाए । सांसद भट्टराईले समिति गठन भएको ३ महिनासम्म पनि समिति सभापति चयन हुन नसक्नु दुःखद रहेको बताउँदै सरकारले अबिलम्ब सभापति चयन गर्न जोड दिए ।
यस्तै उनले विमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे । सत्ता पक्षको झै-झगडाको साक्षी भएर आफूहरु नबस्ने भन्दै उनले भने, ‘सम्भवत समितिको अर्को बैठकमा आउँदैनौं ।’







