समाजवादी मोर्चा कांग्रेस र एमालेसँग मोलमोलाइ गरेर सत्तादोहन गर्न हो: बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चार दल सहभागी भई बनेको समाजवादी मोर्चाप्रति टिप्पणी गर्दै सत्तादोहनका लागि मोर्चा बनेको बताएका छन्।माधवकुमार नेपाल नेतृत्वमा समाजवादी मोर्चाको काम कारबाहीअघि बढेलगत्तै भट्टराइले सो स्पष्टीकरण दिएका हुन् ।
‘परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरूची/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ भट्टराईले आइतबार फेसबुकमा लेखेका छन्।
‘सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन। किनकि त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो,’ उनले भने।‘जहासम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ, हामी नै वास्तवमा वैचारिक रूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति/शक्तिका प्रमुख प्रवर्तक भएकाले नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ,’।
‘नयाँ युगको र देशको आवश्यकता अनुरूप हामी देशमा उदाउॅदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहद नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौं,’ उनले भने। उनले आफूहरू वैकल्पिक शक्ति निर्माणकै अभियानमा रहेकोसमेत बताएका छन्।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीले केही समयअघि समाजवादी मोर्चा बनाएका थिए।







