शीर्ष नेताबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति
काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीचको छलफलले संसदीय समितिका सभापति चयन गरेर जाने समझदारी गरेका छन् । बुधबार सिंहदरबारमा सभामुख देवराज घिमिरे सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकले यस्तो समझदारी गरेका हुन् ।
छलफलमा सभामुख घिमिरेले लामो समयदेखि संसदीय समितिहरु ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन भइरहेको भन्दै सभापति चयनमा छिटो सहमति गर्न आग्रह गरेका थिए ।
उनले दलहरुले सहमति नगरे आफूले सभापति चयनको प्रक्रिया अघि बढाउने समेत बताएका छन् । ‘चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ ? मिलाउनुहुन्छ भने तुरुन्त मिलाउनुस्’ बैठकमा दलका नेताहरुसँ भएको छलफलबारे सभामुख घिमिरेले सञ्चारकर्मीहरुलाई भने, ‘तपाईहरुले गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ ।’
लामो समयदेखि समितिका सभापति चयन हुन नसक्दा महत्त्वपूर्ण विधेयकमाथि छलफल अघि बढ्न सकेको छैन । वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो ।







