ललिता निवास प्रकरणमा मेरो स्वार्थ जोडिएको छैन : डा.भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको बताएका छन् ।ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि उनले सामाजिक सन्जालमार्फत् स्पष्टीकरण दिएका छन् ।
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयङ्कर रूपले झाँगिएको स्थितिमा ललिता निवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भनेर आफूले निरन्तर आवाज उठाइरहेको डा.भट्टराईले स्मरण गराएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’
उनले थप लेखेका छन्, ‘त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन । कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन ।’

ललिता निवास र यस्तै प्रकारका अरु प्रकरणको पनि छिटो टुंगो लाग्नुपर्ने उनले बताएका छन् । ‘यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्,’ पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् ।’







