Breaking News
Monday, 26 Jun, 2023
निरज कामतले पाए नागरिकता
नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका– ४ का निरजकुमार कामतले वंशजको नागरिकता पाएका छन् ।
उनले मोरङ जिल्ला प्रशासन कार्यालयबाट सोमबार नागरिकता लिएका हुन्। आइतबार नै वडा कार्यालयबाट सिफारिस एवं आवश्यक कागजात लिएर उनी सोमबार प्रशासन कार्यालय पुगेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलेपछि आइतबारदेखि जन्मसिद्धका सन्तानले नागरिकता लिन पाउने भएका छन्।
नागरिकता पीडित संघर्ष समितिको आन्दोलनका क्रममा ३० जेठमा कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्बाेच्च अदालतले रोक लगाएपछि भएको प्रदर्शनका क्रममा निरजले आत्मदाह प्रयास गरेका थिए ।







