मेयर बालेनको शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन्।उनले महानगरका मेयर बालेन शाहको कार्यशैली र पद्धतिमा आफ्नो विचार मेल नखाएको भन्दै शिक्षा सल्लाहकार पदबाट राजीनामा दिएकी हुन्।
उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् ।भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका संवादलाई कारण देखाउँदै साहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् ।अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।
महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् ।गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।







