कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो ।मंगलबार माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन्।
‘कोशी प्रदेश सरकारमा मन्त्री भई कामकाजमा सहयोग गर्दै आएकोमा हाल बदलिएको राजनितिक परिस्थितिका कारण नेकपा माओवादी केन्द्र पार्टीले तपाईंको नेतृत्वमा रहेको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेकोले तपाईंको सरकारमा रही निरन्तरता दिन नसक्ने अवस्था सिर्जना भएकोमा आजको मितिबाट लागु हुने गरी मन्त्री पदबाट राजीनामा गरेको छु,’ उनीहरूको राजीनामा पत्रमा उल्लेख छ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।







