भारतमा लागेको उपचार खर्च आफैंले बेहोर्ने राष्ट्रपति पौडेलको घोषणा
राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न भएका छन्।राष्ट्रपतिले सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैंले गर्न चाहेको स्वकीय सचिवालयमार्फत सार्वजनिक गरेका हुन्।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्।उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वंमले बेहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो । राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए ।








